लन्डन — अर्थमन्त्री जनार्दन शर्माले बेलायती लगानीकर्तालाई नेपालको जलविद्युत् र अन्य नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी गर्न अनुरोध गरेका छन् ।
लन्डनस्थित नेपाली दूतावास, काठमाडौंस्थित बेलायती दूतावास र डेभलपिङ मार्केट एसोसियट्स (डीएमए) ले संयुक्त रुपमा आयोजना गरेको ‘यूके नेपाल इनर्जी ट्रान्जिसन एन्ड काउन्टडाउन टु कोप २६’ विषयक लगानी सम्मेलनमा अर्थमन्त्री शर्माले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न एवं कार्वनरहित विकास गर्ने लक्ष्यअनुरुप हरित एवं नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरेका हुन् । स्कटल्यान्डको ग्लास्गोमा आगामी नोभेम्बर २०२१ मा हुने संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप २६) को सन्दर्भमा उक्त सम्मेलन भएको हो ।
सम्मेलनमा जलविद्युत एवं अन्य नवीकरणीय हरित ऊर्जासँग सम्बद्ध नेपाल सरकारका विभिन्न निकायका पदाधिकारीहरु, नेपालमा लगानी गर्न इच्छुक विदेशी लगानीकर्ता तथा उक्त क्षेत्रमा लगानी गरिरहेका नेपाली लगानीकर्ता एवं व्यवसायीहरुको संलग्नता थियो ।
उक्त सम्मेलनमा नेपालका अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले नेपालले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न एवं कार्बनरहित विकास गर्ने लक्ष्यअनुरुप हरित एवं नवीकरणीय ऊर्जा क्षेत्रलाई प्रोत्साहन गरिरहेको बताउँदै जलविद्युत् एवं अन्य नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी गर्न अनुरोध गरे ।
त्यसैगरी एसिया प्यासिफिक तथा साउथ एसियाका लागि कोप-२६ क्षेत्रीय राजदूत केन ओ फ्लाहेर्ती, आईएफसीका क्षेत्रीय निर्देशक हेक्टर गोमेज एङ तथा बेलायती लगानीकर्ताका तर्फबाट डोल्मा इम्प्याक्ट फन्डका कार्यकारी अधिकृत टिम गोचरलगायत जलविद्युत् विज्ञहरुले नेपालमा हरित एवं नवीकरणीय ऊर्जाको क्षेत्रमा लगानीका लागि अथाह सम्भावना रहेको धारणा व्यक्त गरे ।
वक्ताहरुले हरित एवं नवीकरणीय ऊर्जाको विकासमार्फत नेपाल सन् २०५० भित्र जिरो नेट कार्बन उत्सर्जन गर्ने लक्ष्यतर्फ अगाडि बढेको र जलवायु परिवर्तन सम्बन्धमा पेरिस सम्झौताको प्रतिवद्धता पूरा गर्न सकिने राय व्यक्त गरेका थिए । कार्यक्रममा नेपाल तथा बेलायतका व्यवसायी एवं लगानीकर्ताहरुबीच भर्चुअल माध्यमबाट परिचय तथा व्यवसाय सम्बन्धमा विभिन्न छलफल पनि भएका थिए ।





