
पप्पु रेग्मी, बर्दघाट, २०८१ बैशाख १८
नेपाल पत्रकार महासंघ जिल्ला शाखा पश्चिम नवलपरासीको १४ औं अधिवेशन एंव २४ औं साधारण सभामा सोमबार वर्दघाट नगरपालिका वडा नम्वर १० को शहिद पार्कमा सम्पन्न भएको छ ।नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष हरि शर्माको अध्यक्षता तथा महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष रमेश बिष्टको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा केन्द्रिय वरिष्ठ उपाध्यक्ष एवं प्रमुख अतिथि विष्टले कार्यक्रममा बोल्दै, मर्यादित र व्यवसायिक पत्रकारितामा जोड दिन आग्रह गर्दै, महासंघले सदस्यता शुद्धिकरण अभियान सञ्चालन गरेर महासंघमा क्रियाशिल सदस्यहरुलाई मात्र आवद्ध गर्ने उद्धेश्य रहेको बताउनुभयो ।महासंघको १४ औं अधिवेशन एंव २४ औं साधारण सभामा महासंघको सचिव राज कुमार रेश्मीले सचिवको प्रतिवेदन र कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्ष प्रकाश न्यौपानेले प्रस्तुत गर्नु भएको थियो ।

साधारण सभाको अवसरमा अग्रज पत्रकार एवं शाखाका पूर्व अध्यक्ष स्वर्गीय कृष्ण बहादुर कार्कीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार नगद ११ हजार १ सय ११ सहित, दोसल्ला र सम्मान पत्रद्वारा स्व कार्कीको जेष्ठ सुपुत्र नारायण कार्कीलाई सम्मान गरिएको जिल्ला अध्यक्ष हरि शर्माले बताउनुभयो ।जिल्ला शाखाले यस वर्ष देखि जिल्लामा पत्रिकारिता क्षेत्रमा पुर्याएको योगदानको मूल्यांकन गर्दै अधिवेशन हुने वर्षमा एक जना पत्रकारलाई नवलपरासी पत्रकारिता पुरस्कारले सम्मान गर्ने निणर्य गरेको थियो । सोही निणर्य अनुसार महासंघको अधिवेशनको अवसर पारेर स्वर्गीय कार्कीलाई उक्त पुरस्कारले सम्मान गरिएको हो ।पत्रकार महासंघ जिल्ला शाखाको तीन कार्यकालसम्म पत्रकारिता गरेका कार्की २०४५ साल देखि दैनिक लुम्बिनीमा आवद्ध रहेका कार्की ७३ वर्षसम्म पनि पत्रकारिता पेशामा क्रियाशिल रहँदै आएका थिए ।
संस्थागत विकास र पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै शाखाले कार्कीलाई सम्मान गरेको हो । कार्कीकै पहलमा रामग्राम नगरपालिकाबाट जग्गा प्राप्त गरी राजधानी बाहिर नेपालमै पहिलो जिल्ला शाखाका रुपमा पत्रकार महासंघको भवन निर्माण भएको शाखाले जनाएको छ । परासी निवासी कार्कीको ७३ वर्षको उमेरमा २०६८ माघ १३ गते दुःखद निधन भएको थियो ।
स्वर्गीय कृष्ण बहादुर कार्की र उहाँकी धर्मपत्नी स्वर्गीय पवित्रा कार्कीको स्मृतिमा कार्की परिवारद्धारा अक्षय कोष स्थापना गरिएको छ । नेपाल पत्रकार महासंघमा स्थापना गरिएको राशी १ लाख ११ हजार १११ रुपैयाँ रहेको छ । महासंघ जिल्ला शाखाको १४ औं अधिवेशन एवम् २४ औं साधारण सभामा कार्कीका जेष्ठ छोरा नारायण कार्कीले आफ्ना बुबाले नवलपरासी क्षेत्रको पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानलाई सदैव सम्झना गर्ने उद्देश्यले कार्की परिवारबाट अक्षय कोष स्थापना गरिएको बताउनुभयो ।
सो साधारण सभामा महासंघका पूर्व अध्यक्ष कुल प्रसाद शर्मा, संस्थापक सदस्य आर.पी. उपाध्याय, प्रेस युनियन नवलपरासी जिल्ला अध्यक्ष उमेश वि.क, प्रेस चौतारी नेपालका उपाध्यक्ष गौरी शंकर जयसवाल, महासंघकी उपाध्यक्ष मालति न्यौपाने लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।
सदस्यता शुद्धिकरण अभियान अझै नटुँगिएकोले केन्द्रीय समितिले सदस्यताको टुङ्गो लगाउन नसकेको महासंघले जनाएको छ । जिल्ला शाखाको १४ औं अधिवेशन भने केन्द्रीय समितिले तोकेको मितिमा हुने महासंघले जनाएको छ ।















