बर्दघाट ।
बर्दघाट नगरपालिका वडा नम्बर १२ सपहिया नवलपरासीमा दलित जागरण समूहद्वारा आयोजित तथा बर्दघाट नगरपालिकाको आर्थिक सहयोगमा दुई दिने उदघाेषण तालिम विहीबारदेखि सुरु भएको छ। तालिमको उदघाटन कार्यक्रम संस्थाकी अध्यक्ष मराक्षी देवी धरिकारको अध्यक्षता तथा नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।
प्रमुख अतिथि श्रेष्ठले उदघाटन सत्रमा बोल्दै, संस्थाले विभिन्न कार्यक्रम सञ्चालन गर्दा उदघाेषककाे अभाव हुने गरेको उल्लेख गर्दै भन्नुभयाे, “यो तालिमबाट सहभागीहरूले उदघाेषण कला सिकेमा भविष्यमा बाह्य उदघाेषककाे आवश्यकता हट्नेछ।” उहाँले गाउँ-टोलमा महिलाहरूले निडर भएर बोल्न, नेतृत्व गर्न सक्ने क्षमताको विकास गर्न आवश्यक रहेको भन्दै तालिमको आवश्यकता औँल्याउनुभयो।
यसैगरी, विशेष अतिथि बर्दघाट नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले दलित समुदायले संविधानले दिएको अधिकारको प्रभावकारी उपयोग गर्नुपर्नेमा जोड दिनुभयो। जातीय भेदभाव अन्त्य गर्न सामूहिक प्रयास अपरिहार्य रहेको उहाँको भनाइ थियो।
कार्यक्रममा अन्य अतिथिहरू प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव शरद पौडेल, समाजसेवी तथा राजनीतिकर्मी राजु हरिजन, वडा नं. १२ का वडाध्यक्ष उमाशंकर चौधरी, पूर्व वडाध्यक्ष मदन मल्ल, महिला सदस्य सकुन्तला धरिकार, वडा सदस्य विकास क्षेत्री, प्रशिक्षक उत्तमध्वज केसी, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य कमल परियार, समाजसेवी श्री प्रसाद तिवारी लगायतले तालिमको महत्त्वबारे धारणा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको स्वागत मन्तव्य अञ्जना धरिकारले राख्नुभएको थियो भने संचालन पत्रकार पप्पु रेग्मीले गर्नुभएको थियो।















