सवारी दुर्घटनामा ३ जनाको मृत्यु

19

काठमाडौं, २८ भदौ

ओखलढुंगा, मानेभञ्ज्याङ गाउँपालिका-६ हिलेपानी मितेरिभन्ज्याङस्थित सडकमा बा.११ च ५२१० नंम्बरको सफारी गाडी सडकबाट करिब २ सय मिटर तल खसेर आइतबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार बारा जितपुर सिमरा उपमहानगरपालिका-१५ बस्ने ४० वर्षीय पृथ्वी बहादुर श्रेष्ठको घट्नास्थलमै मृत्यु भएको छ । घाइते भएका चालक सहित ९ जनामध्ये ५ जनालाई उदयपुरको घुर्मिस्थित जनसेवा हेल्थकेयर हुँदै थप उपचारको लागि ट्रमा सेन्टर काठमाडौं पठाइएको छ ।

चितवन, भरतपुर महानगरपालिका-‍९ बिंडीचोकस्थित सडकमा ना.६ त ११२७ नम्बरको ट्याक्टरको ठक्करबाट साइकलयात्री भरतपुर बस्ने सप्तरी घर भएका ५५ वर्षीय कमल चौधरीको आइतबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लमजुङ, बेसिशहर नगरपालिका-८ भिमसेनथानस्थित सडकमा ग.१२ प १७५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २० वर्षीय राजेश परियारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल लमजुङमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।