नवलपरासी (पश्चिम) । जिल्ला कारागार नवलपरासी पश्चिमबाट हिजो फरार भएका सबै कैदी बन्दीलाई तत्कालै कारागारमा फर्कन जिल्ला प्रशासन कार्यालयले अत्यन्त जरुरी सूचना जारी गरेको छ ।
जिल्ला सुरक्षा समिति, नवलपरासी (बसुप) को २०८२ भदौ २६ गते बसेको बैठकको निर्णयअनुसार, भदौ २५ गते कारागारभित्र आगजनी र तोडफोड गरी अराजक अवस्था सिर्जना भएको थियो । त्यस क्रममा सुरक्षा कारबाहीमार्फत स्थिति नियन्त्रणमा लिने क्रममा कैदी बन्दीहरु बाहिर निस्केका थिए ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले हस्ताक्षर गरेको सूचनामा, फरार कैदी बन्दीहरुलाई तत्कालै कारागार कार्यालयमा फर्कन आग्रह गरिएको छ । अन्यथा कानून बमोजिम कडाइका साथ कारबाही हुने चेतावनी पनि दिइएको छ ।
👉 यसै क्रममा जिल्ला प्रशासनले सर्वसाधारणलाई पनि शान्ति सुरक्षा कायम गर्न सहयोग गर्न अपील गरेको छ ।















