काठमाडौं – नेपालमा चलिरहेको राजनीतिक सङ्कटबीच राष्ट्रपति कार्यालय शीतलनिवासमा जेन–जी प्रतिनिधिहरूसँग शुक्रबार महत्वपूर्ण सहमति जुटेको छ। सहमति अनुसार संसद् विघटन गरी अन्तरिम सरकार गठन गर्ने र त्यसको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले गर्ने निर्णय भएको छ।
स्रोतका अनुसार संसद् विघटनको घोषणा लगत्तै राष्ट्रपति कार्यालयले कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेको हो। नियुक्तिपछि उनको शपथ ग्रहण कार्यक्रम पनि आजै सम्पन्न गरिने भएको छ।
यस सहमतिसँगै नेपालले इतिहासमै पहिलो पटक महिला अन्तरिम प्रधानमन्त्री पाउने सम्भावना प्रबल बनेको छ। राजनीतिक दलहरूबीच जारी अविश्वास र विवादको बीचमा नागरिक आन्दोलनका रूपमा अगाडि आएको जेन–जी समूहसँगको संवाद निर्णायक मोडमा पुगेको विश्लेषण गरिएको छ।
शीतलनिवासमा अहिले पनि उच्चस्तरीय छलफल जारी छ भने वरपरको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।















