भैरहवा– नेपाल–भारत खुला सीमा संवाद समूह, रुपन्देहीको आयोजनामा भैरहवामा ‘खुला सीमा: परम्परा, परस्पर निर्भरता र वर्तमान अवस्था’ शीर्षकमा जनसंवाद कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख वक्ता तथा संवाद समूहका केन्द्रीय अध्यक्ष डा. राजीव झाले कार्यपत्र प्रस्तुत गर्दै नेपाल–भारतको खुला सीमालाई केवल भौगोलिक नभई सांस्कृतिक, पारिवारिक र ऐतिहासिक सम्बन्धको जीवित प्रतीक भएको बताएका छन्। उनले भाषा, धर्म, रीतिरिवाज तथा पारिवारिक सम्बन्ध यति गहिरो भएकाले ती सम्बन्धलाई कृत्रिम रूपमा छुट्याउन नसकिने स्पष्ट पारे।
डा. झाले खुला सीमाले सीमा क्षेत्रका जनताको सामाजिक तथा आर्थिक गतिविधि सहज बनाएको उल्लेख गर्दै दुवै देशका सरकारले सीमा क्षेत्रमा शिक्षा, स्वास्थ्य, व्यवसाय र पूर्वाधार विकासमा विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिए।
कार्यक्रममा बोल्दै संविधानसभा सदस्य तथा पूर्वमन्त्री ओमप्रकाश गुलजारीले नेपाल–भारत सम्बन्धलाई ‘राम–सीताको सम्बन्ध’ को संज्ञा दिँदै, कसैले चाहेर पनि यो सम्बन्ध तोड्न नसक्ने धारणा व्यक्त गरे। उनले कतिपय अवस्थामा नेपाल सरकारबाट सीमा प्रशासन प्रयोग गरी सम्बन्ध बिगार्ने प्रयास भएको आरोप लगाउँदै यस्ता प्रयास सफल नहुने दाबी गरे।
मधेसवादी नेता केशव झाले नेपाल–भारतको सीमा अंग्रेजहरूले कृत्रिम रूपमा बाँडेको इतिहास स्मरण गर्दै युरोपको युरोपियन युनियनको अभ्यास उदाहरणीय भएको बताए।
लुम्बिनी प्रदेश सांसद कन्हैया बानियाँले सीमामा तारबार लगाउने केही आवाज आए पनि बहुसंख्यक जनताको भावना खुला सीमाप्रति रहेको बताए। उनले सीमा क्षेत्रको समग्र विकास र नागरिक लक्षित विशेष सुविधा सुनिश्चित गर्नुपर्ने माग गरे।
कार्यक्रम नेपाल–भारत खुला सीमा संवाद समूह, बाँकेका अध्यक्ष प्रशान्त गुप्ताको अध्यक्षतामा सम्पन्न भएको हो। अध्यक्ष गुप्ताले ऐतिहासिक, सांस्कृतिक र पारिवारिक सम्बन्धलाई मजबुत राख्न खुला सीमाको भूमिकालाई संस्थागत गर्नुपर्ने बताए।
कार्यक्रममा जनमत पार्टीका नेता भूपेन्द्र यादवले मधेसी समुदायले अपेक्षित भारतीय सहयोग नपाएको गुनासो गरे भने नेपाल–भारत दलितमैत्री संघका अध्यक्ष ओमप्रकाश विश्वकर्माले भारतले नेपालका लागि सधैं मित्रवत् सहयोग गर्दै आएको बताए।
नेपाल–भारत मैत्री संघका पूर्वअध्यक्ष मुरारीलाल अग्रवालले भारतले नेपाललाई आफ्नै बजेटबाट समेत सहयोग रकम छुट्याउने गरेको जानकारी दिए।
गोपाल सेवा समितिका अध्यक्ष भरथरी यादवले खुला सीमाबाट सीमावासी जनतालाई रोजगारी, सस्तो बजार पहुँच, आपतकालीन अवस्थामा उपचार तथा पारिवारिक भेटघाटमा सहजता मिलेको बताए।















