काठमाडौं, साउन १ –
पूर्वराष्ट्रपति विद्या भण्डारीको नेकपा (एमाले) फर्किने चर्चा चुलिँदै जाँदा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले यस विषयमा स्पष्ट प्रतिक्रिया दिनुभएको छ।
ओलीले भण्डारीसँग कुनै सल्लाह नहुँदा पार्टीले अहिले नै कुनै निर्णय नगरेको बताएका छन्। “उहाँ मसँग र पार्टीसँग कुनै सल्लाह गर्नुभएको छैन,” ओलीले भने, “उहाँ राजनीतिमा फर्किनुहुन्छ कि हुँदैन भन्ने कुरा गणतन्त्र र उहाँकै जीवनमा के असर पर्छ भनेर पार्टीले विचार गर्नेछ।”
पूर्वराष्ट्रपतिका रूपमा कार्यभार सम्हालेकी भण्डारी पछिल्लो समय विभिन्न राजनीतिक अभिव्यक्ति दिँदै आएकी छिन्, जसले उनको पुनः सक्रिय राजनीतिमा प्रवेशबारे अड्कल बढाएको छ। तर ओलीको भनाइले पार्टीको आधिकारिक धारणा अझै नबनेको प्रस्ट भएको छ।
ओलीले भने, “उहाँ आफ्नै इच्छाले राष्ट्रपति बन्नुभएको होइन, पार्टीले पठाएको हो। अहिले बाहिर जे–जे भनिरहनुभएको छ, चाँडै उहाँसँग कुरा गर्छौं, ढिला गर्दैनौं।”
पार्टीको सक्रिय जिम्मेवारी धेरै वर्षअघि छाडेर बसेकी भण्डारीको संगठनात्मक अनुभव अहिले खासै नदेखिएको भन्दै ओलीले तत्कालीन अवस्थामा उनलाई नयाँ जिम्मेवारी दिन सकिने अवस्था नरहेको संकेत पनि दिनुभयो।
एमालेभित्र भण्डारीको पुनरागमनबारे समर्थन र आलोचना दुवै देखिन थालेको बेला ओलीको यो अभिव्यक्तिलाई महत्त्वपूर्ण राजनीतिक संकेतको रूपमा हेरिएको छ। यसले पार्टीभित्र नेतृत्व, जिम्मेवारी बाँडफाँट र आगामी रणनीतिमा थप बहस चर्काउने देखिन्छ।
महेश बस्नेतकाे फेशबुकवालपाेस्टमा आधारित।















