– ओंकारेश्वरधाम, साउन १ गते
आज बिहीबार साउन १ गते, ऐतिहासिक ॐकारेश्वर मन्दिर परिसरमा “ॐकारेश्वर राष्ट्रकल्याण विश्वशान्ति श्रावणी महा-महोत्सव २०८२” को भव्य शुभारम्भ गरिएको छ। कार्यक्रमको प्रारम्भ कलश यात्रासहित बिहानै पूजा-अर्चना गर्दै गरिएको थियो।
उक्त महोत्सवको औपचारिक उद्घाटन दिउँसो ठीक १२:०५ बजे हेलिकप्टरबाट फूल वर्षाउँदै गरियो। भव्य र अध्यात्मिक वातावरणमा सम्पन्न उद्घाटन समारोहमा प्रमुख अतिथि अनन्त श्रीविभूषित मुक्तिनाथ पीठाधीश्वर कमल नयन आचार्य (मुक्तिनाथ बाबा), नगरप्रमुख, गुरुवर्यहरू, समाजसेवी, पत्रकार, सुरक्षाकर्मी तथा हजारौं श्रद्धालु भक्तजनहरूको विशेष उपस्थिति रहेको थियो।
कलश यात्रा, मन्त्रपाठ, रुद्री पाठ, र सामूहिक आरती लगायतका विविध धार्मिक क्रियाकलापहरूले महोत्सवलाई अझ आकर्षक बनाएको थियो। विशेष पूजापाठमार्फत राष्ट्रको समृद्धि, जनकल्याण र विश्वशान्तिका लागि प्रार्थना गरिएको आयोजक समितिले जनाएको छ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मुक्तिनाथ बाबा कमल नयन आचार्यले श्रावण महिनाको आध्यात्मिक महत्त्व र ॐकारेश्वरधामको ऐतिहासिक, पौराणिक र सांस्कृतिक मूल्यको चर्चा गर्दै यस्तो महोत्सवले समाजमा धार्मिक चेतना र सकारात्मक ऊर्जा फैलाउने विश्वास व्यक्त गर्नुभयो।
नगरप्रमुख तथा अन्य विशिष्ट व्यक्तिहरूले पनि आफ्ना मन्तव्य राख्दै ॐकारेश्वरधामको विकास र संरक्षणका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए।
श्रावण महिनाभरि विविध आध्यात्मिक कार्यक्रमहरू, पूजापाठ, कथा-वाचन, ध्यान र सांस्कृतिक प्रस्तुतिहरू सञ्चालन गरिने जानकारी आयोजक समितिले दिएको छ।
स्थानीय बासिन्दादेखि टाढाटाढाबाट आएका भक्तजनसम्मको सहभागिता तथा आस्था झल्किने यो महोत्सव श्रावण महिनाभरि जारी रहनेछ।
















